अषाढ मसान्तको बजेट सकाउने होडमा निर्माण गरिएका मदन भण्डारी आवास योजनाका घरहरू दुई दिनको वर्षाले नै भत्किन थालेका छन् ।
मधेस प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालय, रौतहटका मार्फत निर्माण गरिएका ती भवनहरूमा अत्यधिक कमसल सामग्री प्रयोग भएकाले वर्षा सुरु हुनेबित्तिकै संरचनाहरू धमाधम क्षतिग्रस्त हुन थालेका हुन् ।
विशेषगरी माधवनारायण नगरपालिका–९, गढो क्षेत्रमा निर्माण भइरहेका आवासीय भवनहरू निर्माण सम्पन्न नहँुदै भत्किन थालेपछि स्थानीयवासीले प्राविधिक कमजोरी र नियतमाथि गम्भीर शङ्का गरेका छन् ।
स्थानीय स्रोतका अनुसार, उपभोक्ता समितिमार्फत निर्माण गर्नुपर्ने व्यवस्था हुँदाहुँदै पनि योजनालाई ठेकेदारमार्फत सञ्चालन गरिएको छ । कागजमा मात्रै उपभोक्ता समिति गठन गरिएको देखिए पनि व्यवहारमा ठेकेदारले मोटो रकम असुल गर्दै काम अघि बढाएको प्रमाण फेला परेको छ । भवन निर्माणमा संलग्न व्यक्तिहरू उपभोक्ता समितिमा नरहेको तर सबै जिम्मेवारी सम्हालिरहेको खुल्न आएको छ ।
पूर्वाधार विकास कार्यालय रौतहटका इन्जिनियर रामबाबु प्रसादले निर्माण कार्यमा मोटो कमिसन लिएर गुणस्तरहीन काम गराएको र अनुमानित बजेटभन्दा बढी रकमको बिल बनाएको आरोप स्थानीयवासीले लगाएका छन् ।
माधवनारायण नगरपालिकाका एक पूर्व वडा अध्यक्षले भने, “कमिसनको स्वार्थ र बजेट सिध्याउने हतारोले यस्तो लापरवाही भएको हो । यस्ता कमजोर निर्माणहरूले भविष्यमा त्यहाँ बस्ने नागरिकको ज्यान जोखिममा पार्छ ।”
स्थानीयवासी तथा नागरिक समाजका अगुवाहरूले तत्काल यथार्थ छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् ।