काठमाडौँ | देशका विभिन्न भागमा पाँच जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।
महोत्तरीको मनरा शिसवा नगरपालिका–१ मनरा बस्ने ५० वर्षीय महेश्वर मण्डल सोही ठाउँस्थित खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१७ पनौरास्थित कटुवा खोलामा सोही उपमहानगरपालिका–१७ धोब्बे चोकमा डेरा गरी बस्ने बंगलाचुली गाउँपालिका–५ मुर्कुटी घर भएका १० वर्षीय नविन वली बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यसैगरी, मोरङको केराबारी गाउँपालिका–२ बस्ने ३६ वर्षीय वीरबहादुर लिम्बु सोही गाउँपालिका–२ स्थित समेवा खोलामा मृत अवस्थामा भेटिएका छन् ।
भोजपुरको आमचोक गाउँपालिका–२ बोबेकका ५९ वर्षीय जगतबहादुर राई सोही ठाउँको गोरेटो बाटो छेउको खोल्सोमा मृत फेला परेका छन् ।
त्यस्तै, प्युठानको स्वर्गद्वारी नगरपालिका–९ लामाचौरस्थित माडी खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीले पाँचै घटनाबारे आवश्यक अनुसन्धान जारी राखिएको जनाएको छ ।