बारा | वातावरण संरक्षण र हरित क्षेत्र विस्तार गर्ने उद्देश्यका साथ जनमत पार्टी कलैया उपमहानगरपालिका नगर समितिले ‘एक परिवार, एक विरुवा’ अभियान सुरु गरेको छ । अभियानको औपचारिक सुरुवात शुक्रबारदेखि कलैया उपमहानगरपालिका–१ र ४ मा गरिएको हो ।
पार्टीले वातावरणीय सन्तुलन कायम राख्ने, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने, तथा नयाँ पुस्तामा वातावरणप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ अभियानको थालनी गरेको हो । पार्टीका जिल्ला इञ्चार्ज शिवनाथ पटेल, नेताहरू सन्तोष पटेल, प्रमोद गुप्ता, पारस साह लगायतले संयुक्त रूपमा अभियान सुरु गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख विनोद साह, लोसपा नेता डा. कमरुल्लाह अंसारी, ओमप्रकाश चौधरी लगायतको पनि उपस्थिति थियो ।
जनमत पार्टीले नगरभरि करिब ५ हजार विरुवा वितरण गर्ने लक्ष्य लिएको छ। सुरुवाती चरणमा बाटोमा हिँड्ने सर्वसाधारणलाई करिब १ हजार बिरुवा वितरण गरिएको जिल्ला इञ्चार्ज पटेलले जानकारी दिए ।
पार्टीले बजार क्षेत्र तथा मुख्य स्थानहरूमा पनि विरुवा वितरण गर्ने योजना बनाएको छ । "रुख रोपौं, वातावरण जोगाऔं" भन्ने मूल नारासहित सुरु गरिएको यो अभियान शनिबार मोतिसर क्षेत्रमा संचालन हुने जनमत पार्टीले जनाएको छ ।
कार्यक्रमको अध्यक्षता नगर समितिका अध्यक्ष राजदेव ठाकुरले गरेका थिए ।