सप्तरी | सप्तरी प्रहरीले बेबारिसे अवस्थामा राखिएको ३९६ किलो लागुऔषध गाँजा बरामद गरेको छ। भारततर्फ तस्करीको तयारीमा राखिएको अवस्थामा गाँजा फेला परेको हो ।
डाक्नेश्वरी नगरपालिका–५ स्थित पातोको महादेबा टोल नजिकैको नहर, धानखेत र बाँसघारी क्षेत्रमा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १७ वटा बण्डलमा रहेको ३९६ किलो गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा बुझाइएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।
सुराकीका आधारमा प्रहरीले गाँजा फेला पारेको र यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।