महोत्तरी | महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका विभिन्न दलका करिब ९५ जना नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उनीहरूलाई स्थानीय प्रभावशाली नेता नागेन्द्र महतोको नेतृत्वमा माओवादी केन्द्रमा प्रवेश गराइएको हो। महतो नेपाली कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् । सामाजिक सेवा र विकास निर्माणमा सक्रिय महतो रामगोपालपुर–४ निवासी हुन्। उनले केही समयअघि वडाको कार्यालय भवन निर्माणका लागि निजी जग्गा दान गरेर सामाजिक प्रतिबद्धता देखाइसकेका छन् ।
पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्र रामगोपालपुर नगर कमिटीका अध्यक्ष रामपदारत मण्डलले गरे । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशसभा सांसद तथा पूर्व मन्त्री भरत साह थिए। कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि सूर्य नारायण साह, पूर्व संविधानसभा सदस्य लालेन्द्र मण्डल, प्रदेश कमिटी सदस्य अरविन्द दास, रामगोपालपुरका पूर्व नगरप्रमुख अशोक मण्डल, पूर्व उपप्रमुख सीता देवी साह लगायत विभिन्न नेतृ-नेताहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि भरत साहले पार्टी प्रवेश कार्यक्रमलाई राजनीतिक स्थिरता र जनसंघर्षमा नयाँ ऊर्जा थप्ने अवसरको रूपमा व्याख्या गरे । उनले भने, “माओवादी केन्द्रले मधेसमा जनताको आवाज बलियो रूपमा उठाएको छ। नयाँ सदस्यहरूको आगमनले पार्टीलाई थप संगठनात्मक बल मिल्नेछ ।”
नेता नागेन्द्र महतोले आफ्नो मन्तव्यमा भने, “हामी अब दलहरूको सीमाभन्दा बाहिर गएर सबै समुदायको आवाजलाई एक ठाउँमा ल्याउनेछौं। माओवादी केन्द्रको नेतृत्वमा हामी जनताको हकहितका लागि निरन्तर काम गर्नेछौं ।”
नयाँ प्रवेशकर्ताहरूलाई अबिर र गम्छाले स्वागत गरिएको थियो ।
कार्यक्रममा सहभागी नेताहरूले राजनीतिक एकता, स्थायित्व र समृद्ध नेपाल निर्माणमा सबैले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए । रामगोपालपुरमा सम्पन्न यो प्रवेश कार्यक्रमले आगामी चुनाव र मधेसको क्षेत्रीय राजनीतिमा माओवादी केन्द्रको प्रभाव थप बढाउने विश्वास गरिएको छ ।