महोत्तरी | महोत्तरीमा २३ वटा डिप बोरिङ अलपत्र अवस्थामा रहेका छन् । सरकारी बजेटमा विभिन्न स्थानमा जडान गरिएका ती डिप बोरिङ मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएका छन्, जसका कारण यहाँका २० देखि ४० हेक्टर जमिन सिँचाइविहीन बनेका छन् ।
भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोत्तरीका अनुसार ती डिप बोरिङमध्ये धेरैको विद्युत महसुल नबुझाइएको र उपभोक्ताले विद्युत मिटर नै नलिएको समस्या रहेको छ । डिभिजनका इन्जिनियर विमलेश यादवका अनुसार यी बोरिङ मर्मत गरी सञ्चालन गर्न करिब ४ करोड ५० लाख रुपैयाँ आवश्यक पर्छ ।
हाल सञ्चालनमा रहेका ३१ वटा डिप बोरिङबाट ९८० हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको डिभिजन कार्यालयले जनाएको छ ।
सुक्खाग्रस्त रहेका जिल्लाका किसानलाई लक्षित गर्दै भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र नक्टाझिज धनुषा, प्रदेश सरकार, स्थानीय सरकार र गैरसरकारी संस्थाले डिप बोरिङ जडान गर्दै आएका छन् ।