बारा | विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरको सौन्दर्य र वातावरणीय सन्तुलनलाई संरक्षण र प्रवर्द्धन गर्न महागढीमाई फाउण्डेशनले बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
‘स्वच्छ वातावरण, समृद्ध समाज’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए । यस अभियानलाई सफल बनाउन वर्ल्ड लिंक बाराले सहयोग पुर्याएको थियो भने महागढीमाई नगरपालिकाले समेत सहकार्य गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बारा जिल्ला सचिव भैयाराम यादवले वातावरण संरक्षणको महत्वबारे जोड दिँदै भने, “हरियाली विकास बिना समृद्धि सम्भव छैन ।” उनले वृक्षारोपण अभियान केवल वृक्ष रोप्ने कार्य मात्र नभई जीवनशैली र समाज रूपान्तरणमा समेत सहयोगी हुने बताए । यादवले गढीमाई मन्दिर परिसरको सुन्दरता बढाउन गरेको प्रयासको लागि आयोजक संस्था प्रति धन्यवाद ज्ञापन गरे ।
खल्ती एप्लिकेसनका सह–संस्थापक अरबिन्द साहले वृक्षारोपणले धार्मिक र सांस्कृतिक पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे र फाउण्डेशनको सामाजिक कार्यको प्रशंसा गरे ।
कार्यक्रममा पूर्व वडा अध्यक्ष बिरेन्द्र चौरसिया, वर्ल्ड लिंक बाराका ब्रान्च म्यानेजर प्रदीप साह, समाजसेवी जितेन्द्र गुप्ता, श्री गढीमाई नमूना माविका प्रधानाध्यापक धर्मेन्द्र यादव लगायत विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिती रहेको थियो । सहभागी सबैलाई गम्छा र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
महागढीमाई नगरपालिकाको वडा नं. १ स्थित मन्दिर परिसरमा सम्पन्न यस कार्यक्रमको अध्यक्षता फाउण्डेशनका संयोजक सुनील कुशवाहाले गरेका थिए भने सञ्चालन जयराम कुशवाहाले गरेका थिए ।
वृक्षारोपणमा विभिन्न जातजाति र समुदायका स्थानीय युवाहरूको सक्रिय सहभागिताले सामाजिक ऐक्यबद्धताको उदाहरण प्रस्तुत गरेको थियो । फाउण्डेशनले भविष्यमा पनि यस्ता वातावरणमैत्री र समाज सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ जसले स्थानीय वातावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।