सप्तरी | राजविराज, सखडा र गोविन्दपुर सडक अविलम्ब निर्माणको माग गर्दै पूर्व सिँचाइ मन्त्री उमेश यादवको नेतृत्वमा सोमबार पैदल यात्रा गरिएको छ ।
लामो समयदेखि जीर्ण रहेका उक्त सडकको निर्माणका लागि दबाब दिने उद्देश्यले सखडाबाट गोविन्दपुरसम्मको पैदल यात्रा सम्पन्न गरिएको यादवले जानकारी दिनुभयो । स्थानीयवासी र मन्त्री यादवले ‘राजविराज-सखडा सडक निर्माण गर, कहाँ छ सरकार? कहाँ छ ठेकेदार? सुशासन कायम गर, कुशासन अन्त्य गर’ भन्दै नारा लगाएका थिए ।
सप्तरीको मुख्य पर्यटनस्थल छिन्नमस्ता मन्दिर जाने मार्गका रुपमा परिचित यो सडक लामो समयदेखि जीर्ण भएसँगै दैनिक आवतजावत गर्ने भक्तजन र सर्वसाधारणले ठूलो समस्या भोग्नुपरेको छ ।
सडक निर्माणका लागि पटक-पटक पहल गरिए पनि जिम्मेवार पक्षहरूले चासो नदेखाएपछि दबाब सृजना गर्ने उद्देश्यले यो पैदल यात्रा गरिएको यादवले बताए ।