सिराहा | लहान नगरपालिका–२४ का ८८ वर्षीय ज्येष्ठ नागरिक फनिलाल यादवको हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न नेकपा (एमाले) सिराहाले माग गरेको छ ।
गत साउन १४ गते बुधबार राति धनगडीमाई नगरपालिका–११ ऋाम चोकस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी यादवको हत्या गरिएको थियो ।
१३ पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा (एमाले) सिराहा इन्चार्ज तथा सङ्घीय सांसद गङ्गाप्रसाद यादव, जिल्ला अध्यक्ष अशोककुमार यादव, धनगडीमाई नगरपालिका प्रमुख शिवशङ्कर महतो, सिराहा नगरपालिका प्रमुख नविनकुमार यादव, प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी तथा गोपाल सेवा समिति लहानका उपाध्यक्ष प्रयागलाल यादवलगायतका वक्ताहरूले तत्काल हत्यारा पक्राउ गर्न माग गरेका हुन् ।
सांसद यादवले धनगडीमाई इलाका प्रहरी कार्यालयभन्दा करिब ५०० मिटर टाढा आम चोकमा नेकपा (एमाले) समर्थक ज्येष्ठ नागरिकको हत्या भएको १३ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसक्नु शान्ति सुरक्षामाथिको गम्भीर प्रश्न भएको बताए। उनले थपे, “दुई–चार दिन अझै प्रतीक्षा गर्छौं, तर प्रहरी प्रशासनले हत्यारा पक्राउ गर्न नसके एमाले सिराहा कडा आन्दोलनमा जान बाध्य हुनेछ ।”
नगरप्रमुख महतोले धनगडीमाई क्षेत्रमा संस्थागत विद्यालयका बसमा आगजनी, सहकारी कार्यालयमा तोडफोड र हत्या जस्ता घटना भए पनि प्रहरी प्रशासनको सक्रियता सन्तोषजनक नभएको बताए । “हत्यारा पत्ता लगाउन नसके आन्दोलन हाम्रो चाहना होइन, बाध्यता हुनेछ,” उनले भने ।
जिल्ला अध्यक्ष अशोककुमार यादवले भारतीय सिमानामा भइरहेको मदिरा तस्करी, लागुऔषध ओसारपसार तथा शान्ति सुरक्षासँग जोडिएका समस्याबाट जिल्लावासी पीडित रहेको उल्लेख गर्दै ८८ वर्षीय ज्येष्ठ नागरिकको क्रुर हत्या भएको घटनालाई प्रहरीले पर्याप्त गम्भीरतापूर्वक नलिएको आरोप लगाए ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता तथा सूचना अधिकारी नायब उपरीक्षक बीरेन्द्र पासवानले अनुसन्धान अन्तिम चरणमा पुगेको र दुई–चार दिनमै हत्यामा संलग्न व्यक्ति पक्राउ पर्ने विश्वास व्यक्त गरे ।
मृतक फनिलाल यादव लहान नगरपालिका–२४ का पूर्व वडाध्यक्ष कमलदेव यादवका पिता हुन् । ८८ वर्षीया ज्येष्ठ नागरिकको यसरी निर्ममतापूर्वक हत्या भएको यो सिराहाको पहिलो घटना भएको बताइन्छ ।