वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत एक कैदीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल प्रशासनमाथि लापरबाहीको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।
हत्याको अभियोगमा वीरगंज कारागारमा रहेका वीरगंज–२५, खलवाटोला श्रीसियाका राहुल साह तुरहाको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
परिवारका अनुसार, बिहान कारागारमा जिम गर्ने क्रममा राहुलको शरीरको नसामा समस्या देखिएपछि उनलाई उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो । अस्पतालका चिकित्सकले नसा सम्बन्धी विशेषज्ञ उपचार यहाँ सम्भव नभएको भन्दै बाहिरको अस्पतालमा लैजान सल्लाह दिएका थिए ।
तर, कारागार प्रशासनले सुरक्षा र कानुनी प्रक्रियाका कारण बाहिरको निजी अस्पतालमा लैजान नमिल्ने भन्दै उनलाई नारायणी अस्पतालमै राखेको थियो । यसै क्रममा करिब १० बजे उनको मृत्यु भएको मृतकका आफन्तले दाबी गरेका छन् ।
आफन्तहरूले अस्पतालको लापरबाही र सही समयमा उचित उपचार नपाएकै कारण राहुलको ज्यान गएको आरोप लगाएका छन् । विरोधस्वरूप उनीहरूले नारायणी अस्पतालअगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै नाराबाजी समेत गरेका छन् ।