सप्तरी । सप्तरीको चन्द्र नहर किनारमा बढ्दो अतिक्रमणका कारण नहर कमाण्ड एरियाका किसानहरू समस्या पर्न थालेका छन् । मधेश प्रदेशमा जारी खडेरीका बीच सप्तरीका किसानले नहरको पानीको बहाव रोक्ने र किनारा आफूखुसी पानी लगाउने क्रम बढेसँगै समस्या झन् गहिरिएको हो ।
कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन प्रमुख एकराज भट्टराईले फतेपुरदेखि गौइठीसम्मको दूरीमा धेरै ठाउँमा चन्द्र नहरको शाखा नहर र भिसी नजिकै अतिक्रमण भई पानी लगाएको भेटिएको बताए। स्थानीयवासी महेन्द्र यादवले भने, नहरको दुवैतर्फ बाँध र सडकमा पसल, टहरा, रुख, बाँस, झाडी लगायत विभिन्न भौतिक संरचनाले नहरको स्वरूप बिग्रिएको बताए ।
त्यस्तै, स्थानीय उपेन्द्र मण्डलले चन्द्र नहरमा बनाइएको सयौं भिसीहरूमा नामचिनारीको अभाव रहेको र यसले कृषकहरूलाई खेतमा पानी पुर्याउन कठिनाइ भएको बताए ।
अतिक्रमण र पानी अवरुद्ध गर्ने कार्यमा रोक लगाउन स्थानीय प्रशासन र प्रहरीले तदारुकता नदेखाएको पनि स्थानीयले आरोप लगाएका छन् । प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने, अतिक्रमण गर्नेहरूको पहिचान हुन नसकेको र यसकारण कारबाही हुन नसकेको जानकारी दिए ।
प्रमुख कार्यालयका भट्टराईले नहरमा अवरुद्ध पानीले सोनरा र कजौलीसम्म सिँचाइमा बाधा पुगेको बताए । चन्द्र नहर सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी, तिरहुत, अग्निसायर कृष्णासवरण, महादेवा गाउँपालिका लगायतका क्षेत्रका ग्रामीण भूभागमा सिँचाइ सुविधा पुर्याउँदै आएको छ ।
चन्द्र नहर प्रणालीले वर्षमा १० हजार ५०० हेक्टर र हिउँदमा ६ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा प्रदान गर्दै आएको छ । यो नहर २९ किलोमिटर लामो छ र १४.१५ घनमिटर प्रति सेकेन्ड पानी बहाव गर्ने क्षमता राख्दछ ।
नहरमा ११ वटा शाखा नहर, ३८ वटा डाइरेक्ट आउटलेट, ५ वटा इनलेट र ४ वटा इस्केप छन् । साथै ८ वटा साइफन, १३ वटा लोकल ड्रेन साइफन, ३ वटा एक्वाडक्ट, २६ वटा भिलेज रोड ब्रिज, ६ वटा फुट ब्रिज र २ वटा वाटर फल रहेका छन् ।
सप्तरीको ११४ वटा गाविसमध्ये २९ गाविसमा चन्द्र नहरले सेवा प्रदान गर्दै आएको छ । कमाण्ड एरियामा १० हजार ५ सय हेक्टर जमीन भए पनि हाल ७ हजार हेक्टरमात्र सिँचाइ भइरहेको छ। सप्तरीमा कुल खेतीयोग्य जमिन ८३ हजार २३० हेक्टर छ ।
फत्तेपुर, ओद्राहा, कमलपुर, घोघनपुर, धरमपुर, बदगामा, रुपनगर, जगतपुर, कञ्चनपुर, भारदह, पोर्ताहा, मैनाकडेरी, डिमन, त्रिकोल, गोइठी, डाढा, बथनाहा, बनौली, अकबरपुर, भगवतपुर, पकरी, सोनरा, कजौली, महादेवा आदि चन्द्र नहरको कमाण्ड एरियामा पर्दछन् ।
२९ किलोमिटर लामो चन्द्र नहर जीर्ण अवस्थामा भएपनि हाल ११ हजार क्युसेक पानीको बहाव रेकर्ड गरिएको छ ।
यस नहरले प्रति सेकेन्ड १४ घनमिटर पानी प्रवाह गर्ने क्षमता राख्दछ र ५ सय किलोमिटर लामो सिँचाइ प्रणालीबाट १० हजार ५०० हेक्टर जमिनमा सिँचाइ गर्ने सम्भावना छ । तर हाल सो क्षमता अनुसार पानी प्रवाह हुन सकेको छैन ।