गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लीजमा लिएको जग्गा कब्जा गर्दै वकिलहरुको समूहले मंगलबार पत्रकारमाथि आक्रमण गरेका छन् ।
आक्रमणमा परी महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर रायसहितका पत्रकार घाइते भएका छन् । घाइतेमध्ये महासचिव क्रान्तिको खुट्टाको पैताला भाँचिएको छ। उनी अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत छन् । क्रान्तिले भने, “हामीले प्रक्रिया पुर्याएर लीजमा लिएको जग्गा वकिलहरुले कब्जा गर्नुभयो। विरोध गर्न पुगेपछि सयौंको संख्यामा रहेका वकिलहरुले आक्रमण गरे । मेरो खुट्टा क्रेक भएको छ, अहिले ब्यान्डेज गराउँदैछु ।”
अध्यक्ष बन्जारा र पत्रकार दिवाकरको टाउकोमा चोट लागेको छ भने अन्य पत्रकारहरु पनि भागदौडमा चोटपटकका कारण घाइते भएका छन् । आक्रमणको समयमा प्रहरी उपस्थित भए पनि रोकथाम गर्न नसकेको आरोप लागेको छ । महासंघले भूतनाथ महादेवको दक्षिणतर्फ रहेको ४ कठा जग्गा गुठी संस्थानसँग वार्षिक तीन लाख एक हजार एक सय रुपैयाँमा २० वर्षका लागि लीजमा लिएको हो ।
महासचिव क्रान्तिका अनुसार साउन १९ गते महासंघ र गुठी संस्थानबीच सम्झौता भएको हो । तर नेपाल बार एसोसिएसन जनकपुरधामले साउन २० गते सूचना जारी गर्दै सो जग्गामा गाडी पार्किङ गर्न कानुन व्यवसायीहरुलाई आग्रह गरेको थियो ।
भिडियाे सामाग्री