सिरहा | सिरहा र धनुषा जिल्लाको सीमा क्षेत्रमा रहेको कमला नदी पार गर्न बनाइएको बाँसको पुल बाढीले बगाएपछि डुङ्गाबाट आवागमन सुरु भएको छ ।
केही दिनदेखि निरन्तर वर्षाका कारण आएको बाढीले अस्थायी बाँसको पुल बगाएपछि अहिले नदी पार गर्न दुई वटा डुङ्गा सञ्चालनमा छन् ।
चार वर्षअघि हुलाकी मार्ग सञ्चालनमा ल्याउने उद्देश्यले निर्माण गरिएको कमला पुल बाढीले भासिएपछि स्थानीयवासी वैकल्पिक रूपमा बाँसको पुल प्रयोग गर्दै आएका थिए । बर्षेनी बाढीले बाँसको पुल बगाइरहेकोले यस वर्षदेखि स्थानीयहरूले डुङ्गा प्रयोग सुरु गरेका हुन् ।
यस वर्ष बनाइएको अस्थायी बाँसको पुलबाट आवतजावत गर्न मोटरसाइकलले ५० रुपैयाँ र व्यक्तिले २० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
सिरहा नगरपालिका–५ बसबिटाका स्थानीय किसानहरू कमलापारी धनुषा जिल्ला कमलमाई नगरपालिकामा खेती गर्छन्। रोपाइँ र गाई–भैंसीका लागि घाँस ल्याउन उनीहरू डुङ्गा प्रयोग गर्न बाध्य छन् ।
५० वर्षीय धर्मदेवी यादव भन्छन्,
“कमलामा पुल निर्माण हुँदै गर्दा खुसीले मन गदगद थियो। पुलको प्रयोग गर्न नपाउँदै पुल भासिएर सारा सपना कमला नदीमै बग्यो। कहिले फेरि पुल निर्माण होला, कुनै टुङ्गो छैन। हाम्रो लागि त आकाशबाट खसेझैँ भयो। यो पीडा कसलाई सुनाउने?”
डुङ्गा चालक छेदी मुखियाले बाँसको पुल बगाएपछि बाध्य भएर पुरानो डुङ्गा प्रयोगमा ल्याएको बताए । उनले डुङ्गामा मोटरसाइकल, साइकल, घाँस र अन्य सामग्रीसहित मानिसलाई पार गराउन जोखिम रहेको पीडा सुनाए ।
“दुई वटा डुङ्गा मात्रै चलिरहेको यस कमला नदी पार गर्न मोटरसाइकलको १०० रुपैयाँ र प्रति व्यक्ति ५० रुपैयाँ लिन्छन् । तर नदी पार गर्न करिब एक घण्टा पर्खनुपर्छ। डुङ्गा चढेर पार गर्दा डर पनि छ,” जनकपुर जान लागेको बिनोद यादवले भने ।
सिरहा नगरपालिकाका युवाहरूले पुल पुनर्निर्माणका लागि मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा गत वर्ष अनसनसमेत बसेका थिए । पुलको पुनर्निर्माण मधेश प्रदेश सरकारले गर्न नमिल्ने भएकाले अर्को स्थानमा पुल निर्माणको डिपिआर तयार गर्न यस आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पुल भासिएको चार वर्षमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभिन्न विभागीय मन्त्रीहरूले अवलोकन गरे पनि पुल पुनर्निर्माण नभएकाले स्थानीयवासी ठूलो सास्ती भोग्दै आएका छन् ।
सिरहा नगरपालिका–५ का वडाध्यक्ष जागेश्वर यादवले भने,
“करिब ४७० मिटर लामो र ११ मिटर चौडाइको कमला पुल २०६८ साल मङ्सिरमा २४ करोड ९१ लाख रुपैयाँमा पप्पु विल्डर्स कन्स्ट्रक्शनलाई जिम्मा दिई साढे तीन वर्षभित्र सम्पन्न गर्ने योजना थियो । तर पटक–पटक म्याद थप्दा पनि काम अघि बढेन । स्थानीयवासीले संघर्ष समिति बनाएर दबाब दिएको थिए, जसपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्शनसँगको ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी विल्डर्स कन्स्ट्रक्शनसँग सम्झौता गरेको थियो ।
२०७८ असार १३ गतेसम्ममा निर्माण सम्पन्न गर्ने योजना थियो । निर्माण कार्य सम्पन्न भएपछि उद्घाटन तयारी भइरहेकै समयमा २०७८ असार १७ गते आएको बाढीले पुलको पूर्वी–पश्चिमी पाया भासाएको थियो।”
भिडियाे सामाग्री