सप्तरी । सप्तरी जिल्लामा शनिबार श्रीकृष्ण जन्माष्टमी धुमधामका साथ मनाइँदैछ। राजविराज नगरपालिका–७ स्थित कृष्ण मन्दिरसहित जिल्लाका विभिन्न कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
राजविराज बजारका दर्जनौँ घरमा भगवान श्रीकृष्णको मूर्ति स्थापना गरी सर्वसाधारणले पूजा गर्दै आएका छन् । राजविराज–२ का ध्रुब देवले भने, ‘‘भाकल भएकाले प्रत्येक वर्ष घरमै मूर्ति स्थापना गरेर भगवान श्रीकृष्णको पूजा गर्दै आएका छौँ ।’’
विशेषगरी सन्तान प्राप्ति, दीर्घ रोग निको पार्ने र सु–स्वास्थ्यको कामनाका लागि भाकल अनुसार माटोको मूर्ति निर्माण गरी पूजा गर्ने चलन रहेको उहाँले बताए ।
आजको दिन माटोको भाँडामा चोखो दही जमाएर मखन बनाएर भगवान श्रीकृष्णलाई अर्पण गर्ने परम्परा रहिआएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आइतबार (भदौ १ गते) राजविराजमा रथयात्रा निकालिने भएको छ ।
राजविराज–९ स्थित राधाकृष्ण मन्दिर अगाडिबाट शुरु हुने रथयात्रामा भगवान श्रीराधाकृष्ण विराजमान रथसहित नगर परिक्रमा गराइनेछ । सो अवसरमा स्थानीय कला–संस्कृतिसम्बन्धी झाँकी प्रदर्शन गर्ने र नगरका प्रमुख मठमन्दिरहरूको दर्शन गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष अनिल यादवले जानकारी दिए ।
गत वर्षदेखि राजविराजमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा पहिलो पटक रथयात्रा निकालिएको हो। यस वर्ष दोस्रो पटक रथयात्रा निकाल्न लागिएको आयोजकले जनाएको छ ।
भिडियाे सामाग्री