रौतहट । सशस्त्र प्रहरीले रौतहटमा ठूलो मात्रामा तस्करीको सामान बरामद गरेको छ । गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत शिवनगर चौकदेखि उत्तरतर्फ रहेको टिभीएस सोरुम नजिकको एक गोदाममा खानतलासी गर्दा सामान फेला परेको हो ।
सशस्त्र प्रहरी बल रौतहटका सशस्त्र प्रहरी नायब उपरीक्षक अमर लामाका अनुसार टोलीले खानतलासी गर्दा १०६ बोरा चिनी, ९ बोरा सिमेन्ट, १० बोरा मल र १० बोरा सरफ बरामद गरेको छ। बरामद गरिएका सामानको मूल्याङ्कन चार लाख २० हजार तीन सय रुपैयाँ बराबर हुने र ती सामान शुक्रबार गौर भन्सार कार्यालयमा बुझाइएका उनले जानकारी दिए ।
सिमानाबाट झन्डै २० किलोमिटर भित्र बरामद भएको यस घटनाले रौतहटमा संगठित रूपमा तस्करी भइरहेको प्रमाणित गरेको स्थानीय प्रशासनको ठहर छ ।
तस्करहरूले मिलोमतोमा सामान ओसारपसार गर्ने भएकाले राज्यले करोडौँ रुपैयाँ राजस्व गुमाउँदै आएको बताइन्छ। रौतहटमा अन्न, लत्ताकपडा, भैंसीलगायतका सामानको तस्करी प्रहरी र तस्करबीचको साँठगाँठमै हुने गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।
भिडियाे सामाग्री