रौतहट | देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहमाथि शनिबार कृष्ण जन्माष्टमीका अवसरमा आयोजित मेला उद्घाटन गर्दै गर्दा आक्रमण भएको छ ।
नगरपालिकाको वडा नं. ९ धरहरिमा रहेको कृष्ण मन्दिर परिसरमा लागेको मेलामा मेयर साह सहभागी भएका थिए । मेला समितिले स्वागत गरी मञ्चमा लगिरहेको क्रममा भिडबाट होहल्ला भएको थियो। होहल्लाको बीचमा मेयरले मेला उद्घाटन नगर्ने निर्णय गर्दै मञ्चबाट तल ओर्लिरहेका बेला उनलाई अन्धाधुन्ध ढुंगा र इटामार्फत आक्रमण गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
मेयरमाथि स्थानीय राम प्रवेश साह नेतृत्वको समूहले आक्रमण गरेको बताइएको छ । आक्रमणमा दुई जना वरिष्ठ प्रहरी हवलदार र दुई सर्वसाधारण घाइते भएका छन् । घाइते हवलदार जगदीश यादव र धन सुन्दर ठाकुरको उपचार गरुडा स्थित बेटर नेपाल मल्टी स्पेसलिटी अस्पतालमा भइरहेको छ ।
आक्रमणबाट मेयर साहको टाउकोमा गम्भीर चोट लागेको छ र १६ वटा टाँका लागेको बताइएको छ । उनको अवस्था गम्भीर रहेकाले वीरगन्ज पठाइएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाले आक्रमणमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
भिडियाे सामाग्री