मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश भइरहेको कारण वर्षाको क्रम भने जारी रहने महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । मधेस, कोशी र बागमती प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभाग र केही तराई क्षेत्रमा पनि मध्यम वर्षा हुनसक्ने देखिन्छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान छ ।
आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भागमा सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली हुने सम्भावना छ । मधेस, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कोशी प्रदेशका तराई र पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।