पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ टोल पिडारीस्थित करिब ८ बिघा खाली ऐलानी जग्गामा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको पहलमा “समृद्धिका लागि वन परियोजना” अन्तर्गत आयोजना गरिएको कार्यक्रममा आँप, कटहर, जामुन, खयरलगायतका प्रजातिका सयौं विरुवा रोपिएका छन् । आयोजकका अनुसार वृक्षारोपणले वातावरण संरक्षणसँगै जग्गोको सदुपयोग र दीर्घकालीन आयआर्जनमा योगदान गर्ने अपेक्षा गरिएको छ ।
“वृक्षारोपण भविष्यका लागि सम्पत्ति”
कार्यक्रमको उद्घाटन गर्दै पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा पर्सा क्षेत्र नम्बर ४ का सांसद रमेश रिजालले वृक्षारोपणलाई दीर्घकालीन सम्पत्तिको रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
रिजालले भन्नुभयो:
“वृक्षारोपण केवल हरियालीका लागि मात्र होइन, भावी पुस्ताका लागि आर्थिक समृद्धिको आधार पनि हो। आज रोपिएका बिरुवाहरू भोलिका दिनमा गाउँपालिकाका लागि सम्पत्ति बन्नेछन् ।”
“खाली जग्गाको सदुपयोग”
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले खाली जमिनलाई हरियालीमा रूपान्तरण गर्नु सकारात्मक कदम भएको बताउनुभयो ।
क्षेत्रीले भन्नुभयो:
“खाली जग्गाको सदुपयोग गर्दै सामूहिक वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न मद्दत गर्नेछ। यसले गाउँपालिकालाई हरियाली बनाउनुका साथै स्थानीयलाई दीर्घकालीन लाभ पुर्याउनेछ ।”
स्थानीय सहभागिता
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाली कांग्रेसका नेता रमेश पाण्डेसहित विभिन्न स्थानीय नेता, जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सहभागी स्थानीयवासीले समेत सामूहिक रूपमा बिरुवा रोप्दै कार्यक्रमलाई सफल बनाएका थिए । उनीहरूले यस किसिमका गतिविधिले गाउँलाई मात्र हरियाली बनाउने नभई वातावरणीय सन्तुलन र स्वच्छ जीवनशैलीका लागि आधार तयार गर्ने विश्वास व्यक्त गरे ।
भिडियाे सामाग्री