पर्सा । पर्सा जिल्लामा यस वर्ष ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
केन्द्रका सूचना अधिकृत उमेश थापाका अनुसार गत साताको अन्त्यसम्ममा जिल्लाका १४ वटै स्थानीय तहसँगको समन्वयपछि तयार पारिएको तथ्यांकअनुसार ९८ प्रतिशत रोपाइँ पूरा भएको हो । उनले भने, ‘सबै पालिकाका कृषि शाखासँग समन्वय गरेर तथ्यांक संकलन गरिएको हो । औसत निकाल्दा जिल्लामा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको पाइएको छ ।’
उनका अनुसार रोपाइँ बाँकी रहेका स्थानीय तहमा वीरगंज महानगरपालिका र सखुवाप्रसौनी गाउँपालिका मात्र पर्छन् । वीरगंजमा करिब डेढ प्रतिशत र सखुवाप्रसौनीमा पनि सो हाराहारीमा मात्रै रोपाइँ भएको उनले जानकारी दिए । अन्य पालिकामा भने थोरबहुत रोपाइँ बाँकी भए पनि अब यसभन्दा बढी रोपाइँ नहुने उनको भनाइ छ ।
थापाले अघिल्ला वर्षहरूमा पनि जिल्लामा शतप्रतिशत रोपाइँ हुन नसकेको स्मरण गराउँदै यो वर्ष पनि सोही हाराहारीमा रहेको बताए ।
पर्सामा यस वर्ष करिब ३९ देखि ४० हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको छ । गत वर्ष पनि यसै हाराहारीमा धान खेती भएको थियो । धान यहाँको प्रमुख बाली मानिन्छ र जिल्लाका सबै १४ वटै स्थानीय तहमा यसलाई प्रमुख बालीका रूपमा लगाइन्छ ।
भिडियाे सामाग्री