सर्लाही । नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति तथा जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका संरक्षक बासुदेवशरण कोइरालाको निधन भएको छ ।
कोइरालाको गएराति सर्लाहीको लालबन्दी–२, जुटपानीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । केही महिनादेखि अस्वस्थ रहँदै घरमै उपचाररत कोइरालाको निधनसँगै कांग्रेसका नेता–कार्यकर्ता तथा स्थानीयवासीले “एउटा इतिहास ढलेको” भन्दै गहिरो शोक व्यक्त गरेका छन् ।
जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालासहित कांग्रेसका संस्थापक नेताहरूसँगै राजनीतिक यात्रा सुरु गरेका कोइराला पार्टीभित्र एक अनुभवी नेता तथा संगठन निर्माणमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए। उनले लामो समय नेपाली कांग्रेस सर्लाहीको नेतृत्वसमेत गरेका थिए ।
कोइरालाले आफू जीवितै रहँदा शरीर दान गर्ने घोषणा गरेका थिए। पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीरलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइनेछ ।
भिडियाे सामाग्री