रौतहट । फतुवा विजयपुर नगरपालिकामा अनियमितता र भ्रष्टाचार उजागर गर्ने क्रममा पत्रकारमाथि गरिएको दुर्व्यवहार प्रकरणमा उपमेयर अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाह विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
इलाका प्रहरी कार्यालय विजयपुरको अनुरोधमा जिल्ला अदालत रौतहटले सोमबार सनाउल्लाहलाई पक्राउ गर्न आदेश दिएको छ । इन्स्पेक्टर सुरेन्द्र यादवका अनुसार, पत्रकार कृष्ण तिवारीमाथि गत साउन ३० गते नगरसभा कार्यक्रममा सहभागी हुन जाने क्रममा सन्तपुर चौक नजिकै सनाउल्लाहले दुर्व्यवहार गरेको थियो ।
पीडित तिवारीले दिएको जाहेरीको आधारमा रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीको निर्देशनमा घटनाको अनुसन्धान अघि बढाइएको थियो । त्यसै क्रममा इलाका प्रहरी कार्यालय विजयपुरले सनाउल्लाहमाथि अभद्र मुद्दा दर्ता गरेको थियो । प्रहरीको छुट्टै टोलीले सनाउल्लाहलाई खोजतलास गरी पक्राउ गर्ने तयारी गरेको इन्स्पेक्टर यादवले जानकारी दिएका छन् ।
भिडियाे सामाग्री