मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुकभर इटा उत्पादनमा मधेश प्रदेश अग्रणी रहेको बताएका छन् ।
बुधबार जनकपुरधाममा आयोजित नेपाल इट्टा उद्योग महासंघ, मधेश प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले उखु, आँप, माछा र धान उत्पादनमा जस्तै इटा उत्पादनमा पनि मधेश प्रदेशको योगदान प्रमुख रहेको बताए । आर्थिक रुपान्तरणमा इटा उद्योगी व्यवसायीहरूको अतुलनीय योगदान रहेको उल्लेख गर्दै उनले योगदानको आधारमा इटा व्यवसायीलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री सिंहका अनुसार मुलुकभर रहेका करिब १३०० इट्टा उद्योगमध्ये ७०० मधेश प्रदेशमा रहेका छन् । तीमध्ये हाल ३२० भन्दा बढी उद्योग सञ्चालनमा छन् । उनले मधेश प्रदेशबाट संघीय सरकारलाई सबैभन्दा बढी राजस्व जाने भए पनि सोअनुसार बजेट नआएको गुनासो गरे ।
“निकासी पैठारी, खोला र मनोरञ्जन लगायतका कर उठाउने पालिकाहरुले उठाएको करवाट ४० प्रतिशत प्रदेश सरकारलाई पठाउनुपर्ने हो तर पठाएको छैन । प्रदेश सरकारको भाग बुझाउन आग्रह गर्दछु,” सिंहले भने । उनले इटा उद्योगीहरूले पनि प्रदेश सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने आवश्यकता औंल्याए ।
नेपाल इट्टा उद्योग महासंघ, मधेश प्रदेशका अध्यक्ष संजिव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधामका मेयर मनोज साह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधानलगायतका वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए ।
भिडियाे सामाग्री