सशस्त्र प्रहरी बलले बाराका विभिन्न स्थानबाट करिब १० लाख ५५ हजार रुपैयाँ बराबरका भन्सार छली गरिएका सामान बरामद गरेको छ ।
प्रहरीका अनुसार मटिअर्वा सीमा इलाकामा प्र.सि.सु. गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुधीर खतिवडाको कमाण्डमा खटिएको टोलीले बुधवार कलैया उपमहानगरपालिका–१० मा भारतबाट मोटरसाइकलमार्फत ल्याइँदै गरेका करिब २ लाख मूल्य बराबरका सामानसहित तीनवटा मोटरसाइकल बरामद गरेको हो । ती सामान र मोटरसाइकलसहितको मूल्य करिब ४ लाख ७० हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसैगरी, जिल्ला सुरक्षा बेस कलैयाबाट सशस्त्र प्रहरी नायब निरीक्षक दिलीप कुमार सिंह थारु नेतृत्वको टोलीले कलैया–५ बरेवा सडक खण्डमा चेकजाँच गर्ने क्रममा यात्रुवाहक अटोबाट १ लाख १४ हजार रुपैयाँ बराबरका लेडिज कपडा बरामद गरेको छ ।
विओपी गोलागञ्जका सहायक निरीक्षक शिवशंकर चौधरी नेतृत्वको टोलीले मोटरसाइकलसहित १ लाख १२ हजार ७९० रुपैयाँ बराबरका किराना सामान बरामद गरेको छ ।
यस्तै, सुरक्षा बेस जितपुरबाट नायब निरीक्षक बिक्रम पौडेलको कमाण्डमा खटिएको टोलीले बिहीबार बिहान जितपुरसिमरा–९ छतापिपरामा यात्रुवाहक बसको डिक्कीभित्र लुकाइएका ३ लाख ५९ हजार रुपैयाँ बराबरका रेडिमेड कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल गण नं. १२ का गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइने प्रक्रिया सुरु गरिएको छ ।