स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले वर्तमान सरकार जनताका पक्षमा काम गर्न पूर्ण रूपमा क्रियाशील रहेको बताएका छन् ।
नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भने, “परिवर्तनको अनुभूति जनतामा दिन नसकेमा सरकारप्रति नकारात्मक सन्देश जाने भएकाले हामी सचेत भएर काम गरिरहेका छौं ।”
उनले वर्तमान संविधान लागू भएपनि राजनीतिक संयन्त्र मात्रै कार्यान्वयन भइरहेको र जनताका आधारभूत आवश्यकता जस्तै स्वास्थ्य र शिक्षामा अपेक्षाअनुसार काम नहुँदा संविधानप्रति टिकाटिप्पणी हुन थालेको बताए ।
मन्त्री पौडेलले कैलालीको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अस्पताल सञ्चालन गरेर एमबिबिएस पढाइ सुरु गर्न सरकार प्रतिवद्ध रहेको पनि जानकारी दिए ।
उनले गेटा मेडिकल कलेजलाई ३०० शय्यामा विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै, “यसका लागि २५० जनशक्तिको दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइसकिएको छ,” उनले भने ।