सप्तरी | राजविराज नगरपालिकाको बजार तथा सडकपेटीहरूमा दिनप्रतिदिन बढ्दो अतिक्रमण र सडकमा सवारीसाधन पार्किङका कारण सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका छन् ।
राम मन्दिरदेखि उच्च अदालत जनकपुर–राजविराज इजलाससम्म करिब ४ सय मिटर सडकको दुबै छेउमा तरकारी, फलफूल, चटपटे र अन्य सामग्रीका पसल सञ्चालन भएपछि पैदलयात्रीले स–सानो सडकबाट मात्रै हिँड्नुपरेको छ । राजविराज–७ का शिवनारायण यादवले भने, “पैदल यात्रा र सवारी साधनमा यात्रा गर्न निकै कठिनाइ भइरहेको छ ।”
राजविराजका सबै सडकमा सवारी साधन पार्किङ हुँदा सर्वसाधारण समस्यामा परेको छ । बसपार्क निर्माण भएपछि पनि तीन महिनासम्म सञ्चालनमा नआएकाले बस, माइक्रो, विंगरजस्ता सवारीसाधनहरू सडकमै पार्किङ भइरहेका छन् । यसले पैदल यात्रीलाई अत्यधिक असुविधा पुगेको राजविराज–२ का अधिवक्ता धर्मेन्द्र यादवले बताए ।
उहाँले थपे, “सडकमा सबै काम गर्दा पाँच मिनेटमा पुग्ने ठाउँमा २० मिनेट खर्चिनुपर्छ। दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।”
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले भने, “पटकपटक अतिक्रमण हटाए पनि फेरि पसल सञ्चालन गरेर सर्वसाधारणलाई सास्ती दिनेहरूलाई कानुनबमोजिम कारबाही हुनेछ । सडक अतिक्रमण र भिडभाडको समस्या न्यूनीकरणका लागि पुनः पहल गर्ने र सवारी साधनलाई बसपार्कमा पार्किङ गर्न प्रेरित गर्ने प्रयास गरिरहेका छौँ ।”

भिडियाे सामाग्री