रौतहट | सङ्घीय शासनप्रणाली सुरु भएयता विकासमा फड्को मारेको रौतहटकै दुर्गम चन्द्रपुर नगरपालिका–३, गैँडाटारमा आधारभूत पूर्वाधार निर्माण भए पनि चन्द्रनिगाहपुर र गैँडाटार जोड्ने चाँदी नदीको पक्की पुल अझै अधुरो छ ।
स्थानीयवासीले वर्षा लाग्दा नदी तर्नै नसकिने र अन्य समयमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताले जीवनयापन असहज भएको गुनासो गरेका छन् । पुल निर्माण सङ्घर्ष समितिका संयोजक गोविन्द तिमल्सिनाले भने, “पुल बन्ने आशा देखाएको आठ वर्ष भइसक्यो, तर आजसम्म निर्माण सम्पन्न भएको छैन । ठुलो बिरामी परे रोगीलाई सुविधासम्पन्न अस्पताल पुर्याउन गाह्रो पर्छ । बालबालिकाको विद्यालय आवतजावतमा पनि कठिनाइ छ।”
स्थानीय कृषकहरू उत्पादन गरेको अन्न, तरकारी र फलफूल बजारसम्म पुर्याउन नपाउँदा निराशामा परेको उनीहरूले बताएका छन् ।
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर अशोककुमार यादवका अनुसार, पुल निर्माण व्यवसायी दयाराम साहको सुस्त कार्यशैली र बहानाबाजीका कारण निर्माण अलपत्र परेको हो । सम्झौताअनुसार २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजार रुपैयाँमा ठेक्का दिइएको पुल २०७६ असार ३१ भित्र निर्माण सम्पन्न हुने थियो ।
सडक डिभिजन प्रमुख अरुणकुमार कर्णले भने, “सम्झौता मितिमा निर्माण नसकिएपछि पहिलो पटक डेढ वर्ष म्याद थपियो। त्यसपछि कोरोना महामारी, लकडाउन र बन्द हडतालको बहाना देखाउँदै निर्माण ढिला भयो। दोस्रो र तेस्रो पटक म्याद थप्दा पनि काम सम्पन्न भएन । हाल ठेकदार साहले यथाशीघ्र कार्य सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । पुलको ३५ मिटर लम्बाइका ११ स्पानमध्ये आठ तयार भएका छन्, बाँकी तीन चाँडै सुरु हुनेछन् ।”
चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले पुल देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि महत्वपूर्ण भएको बताए । उनले स्थानीय समस्या समाधान गर्न संघीय सरकार र प्रदेशसँग समन्वय गर्दै छिटो निर्माण सम्पन्न गर्ने प्रयास भइरहेको जानकारी दिए ।
भिडियाे सामाग्री