रौतहट | धान रोपाइँको भाका चलिरहेका बेला रौतहटका किसानहरू रासायनिक मल नपाउँदा समस्यामा परेका छन् ।
गरुडा नगरपालिकामा ९ वडामा २० डिलर रहेको कृषि शाखा प्रमुख यदुनन्दन ठाकुरले जानकारी दिए । मागअनुसार मल नपाएकाले समस्या भएको ओम नमः शिवाय कृषि सहकारी संस्थाका अध्यक्ष संजिव राय यादवले बताए । उनका अनुसार सरकारी तथ्याङ्कमा दुर्गा भगवतीमा कृषि योग्य जमिन वास्तविकताभन्दा कम देखाइएकाले समेत मल आपूर्ति घटेको हो ।कृषि ज्ञान केन्द्र रौतहटका तथ्याङ्क अनुसार जिल्लामा ६५ हजार ९६९ हेक्टर खेतीयोग्य जमिनमध्ये ३५ हजार हेक्टरमा धान रोपाइँ हुने गर्छ । केन्द्रका बाली संरक्षण अधिकृत सरोज मण्डलका अनुसार धान खेतीको समयमा मात्र १० हजार मेट्रिकटन युरिया र ८ हजार मेट्रिकटन डिएपी आवश्यक पर्छ ।
यसैबीच मौलापुर नगरपालिकामा भने डिलरहरूको नियमित अनुगमन, स्टक निरीक्षण, मूल्य निगरानीलगायत उपायले बदमासी रोकिएको कृषि शाखा प्रमुख रिंकु जयसवालले दाबी गरे ।रासायनिक मलको अभाव भएको कुरा कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरका प्रमुख विवेक पौडेलले समेत स्वीकार गरेका छन् । किसानको मागअनुसार कृषि सामग्री कम्पनी चन्द्रपुर र साल्ट ट्रेडिङ्ग कम्पनी गौरले आपूर्ति नगरेपछि समस्या बढेको किसानहरूको गुनासो छ ।
कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरसँग १९६ डिलर र साल्ट ट्रेडिङ्ग कम्पनी गौरसँग ११८ डिलर रहेका छन् । रासायनिक मल वितरण निर्देशिका अनुसार प्रत्येक स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा समिति गठन गरिने र त्यसले मूल्य निर्धारण, डिलर सिफारिस, बाँडफाँट, सुपरीवेक्षण तथा कारबाही गर्ने अधिकार पाउँछ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका कृषि प्रसार अधिकृत तथा प्रदेश मल वितरण व्यवस्थापन समितिका सदस्य सचिव अमर चन्द्र मण्डलका अनुसार जिल्लागत खेतीयोग्य जमिनका आधारमा कोटा निर्धारण हुने र स्थानीय तहस्तरमा उपप्रमुखको संयोजकत्वमा समिति बनाएर सहकारी संस्थालाई मलको बाँडफाँट गरिने व्यवस्था छ ।
भिडियाे सामाग्री