सप्तरी | राजविराज नगरपालिकाको बिटौरी तथा ब्लब जग्गाको लालपुर्जा वितरणको माग गर्दै जग्गा पीडित संघर्ष समितिले बिहीबारदेखि पुनः आन्दोलनको घोषणा गरेको छ ।
राजविराजस्थित गजेन्द्र चोकमा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक इरसाद अन्सारीले पटकपटक आन्दोलन गरे पनि आश्वासन दिइए पनि माग पूरा नभएकाले पुनः आन्दोलन गर्न बाध्य भएको जानकारी दिनुभयो ।
उनले आगामी आन्दोलन कार्यक्रमको विवरण यसप्रकार प्रस्तुत गर्नुभयो:
- भदौ ७: लाठी जुलुस र खबरदारी सभा
- भदौ ९: सिटी जुलुस
- भदौ ११: राजविराज नगरपालिकामा २ घण्टा धर्ना
- भदौ १४: मसाल जुलुस प्रदर्शन
- भदौ १५: राजविराज बजार बन्द र नगरपालिकामा तालाबन्दी
- भदौ १६: संघर्ष समिति र नगरवासीको बृहत् बैठक गरी पाँचौँ चरणको आन्दोलन कार्यक्रम घोषणा
अन्सारीका अनुसार, नगरक्षेत्रका मुख्य तथा भित्री सडक किनारमा बसोवास गर्ने करिब ५ हजार २ सय परिवारले लालपुर्जा नपाएकाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन र जग्गा खरिदबिक्री गर्न असमर्थ छन् ।
संघर्ष समितिले लालपुर्जा वितरणसहित अन्य मागहरू पनि राखेको छ :
- राजविराज बसपार्क तत्काल सञ्चालन
- हटियामा व्यवसायिक कम्पलेक्सको निर्माण सुरु
- खाँडो नदी तटबन्ध क्षेत्रका जग्गाको नापी
- सीमा नाकामा खाद्यान्न तथा अन्य वस्तुका लागि क्वारेन्टाइन स्थापना
- नगरक्षेत्रमा लामखुट्टेविरुद्ध औषधी छर्किनु
- वर्षौंदेखि बन्द रहेका छोटी भन्सारहरू सुचारु गर्नु
गत फागुन १७ गते पनि उनीहरूले आठबुँदे मागसहित विभिन्न चरणमा आन्दोलन गरेका थिए, तर आश्वासन पूरा नभएकाले पुनः आन्दोलनमा उत्रिएको संघर्ष समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा मधेश प्रदेशसभा सदस्य अनिरूद्ध प्रसाद सिंह यादव, पूर्व नगर प्रमुख अनिस अन्सारी र जगन्नाथ दास, युवा नेता दीपेन्द्र चौधरी लगायतका संघर्ष समितिका पदाधिकारीहरू उपस्थित थिए ।
भिडियाे सामाग्री