नगरकोट | खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुल व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न सबै निकायलाई ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
आज नगरकोटमा आयोजित आर्थिक वर्ष २०८१/८२ को वर्षीक समिक्षा बैठक तथा मन्त्रालय स्तरीय विकास र समस्या समाधान समितिको बैठकमा मन्त्री यादवले खानेपानी क्षेत्रमा देखिएका समस्या अझै गम्भीर रहेको बताए । उनले सबै तहका निकाय र कर्मचारीहरूले कार्यप्रति प्रतिबद्धता, पारदर्शिता र जिम्मेवारी निर्वाह गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो ।
मन्त्री यादवले तराई–मधेशका विभिन्न स्थानहरूमा निर्माण भएका ओभरहेड ट्याङ्क योजनाहरू वितरण प्रणालीको अभावका कारण सञ्चालनमा नआएकाले सम्बन्धित निकायले रणनीतिक र प्राविधिक कदम चाँडै चाल्नुपर्ने निर्देशन पनि दिनुभयो ।
“सम्पूर्ण योजनाहरू जनतालाई लक्षित गरी निर्माण गरिएका हुन् । तर तिनको उपयोग नगरी बस्नु स्रोतको दुरुपयोग हो । जति सक्दो चाँडो ती संरचनाहरू सञ्चालनमा ल्याइ नागरिकलाई सुविधा दिनुपर्छ,” मन्त्री यादवले भन्नुभयो । जलवायु परिवर्तनका कारण तराई–मधेस, पहाडी र हिमाली क्षेत्रमा खानेपानीका मुहान सुक्ने समस्या बढ्दै गएको हुँदा मुहान संरक्षण र रिचार्ज कार्यक्रमलाई प्राथमिकता दिएर कार्य अघि बढाउन मन्त्री यादवले आग्रह गर्नुभयो ।
उनले भने, “खानेपानी सेवामा सुधार ल्याउन सबै पक्षको साझा उत्तरदायित्व छ । हाम्रो साझा लक्ष्य भनेको सबै नेपाली नागरिकलाई स्वच्छ, सुरक्षित र दिगो खानेपानी सेवा उपलब्ध गराउनु हो । यस लक्ष्य प्राप्तिका लागि सरकार मात्र होइन, स्थानीय तह, उपभोक्ता समिति, विकास साझेदार र समुदायको सक्रिय सहकार्य अपरिहार्य छ ।”
भिडियाे सामाग्री