सिराहा | नेकपा (एमाले) का स्थानीय अगुवा नेता–कार्यकर्ताहरू लक्ष्मीपुर पतारी गाउँपालिकामा भएको अनियमितता र भ्रष्टाचारविरुद्ध धर्नामा बसेका छन् ।
भदौ ५ गते गाउँपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका उनीहरू भदौ ६ गतेदेखि १५ बुँदे मागसहित अनिश्चितकालीन धर्नामा बसेका हुन् । धर्ना कार्यक्रमबारे जानकारी दिँदै एमाले जिल्ला कमिटी सदस्य देव नारायण साहले गाउँपालिकामा सुशासन कायम गर्न बाध्य भएर आन्दोलन थालेको बताए ।
एमालेले प्रस्तुत गरेको १५ बुँदेमध्ये प्रमुख मागहरूमा २०८० सालदेखि हालसम्मको आय–व्यय पारदर्शी बनाउनुपर्ने, किसानका लागि ल्याइएका २१ थान ट्रान्समिटर तत्काल जडान गर्नुपर्ने, वडागत बजेट ५० लाखबाट घटाएर २५ लाख बनाउने कार्य रोक्नुपर्ने, पतारी पोखरीका लागि विनियोजित ३ करोड ५० लाख रुपैयाँमा कमिसन नलाग्ने भएपछि रोकिएको कार्य अघि बढाउनुपर्ने लगायतका विषयहरू समावेश छन् ।
त्यसैगरी, गाउँपालिका कार्यालयसँग जोडिने ४ करोड ७० लाख रुपैयाँको योजना बिना काम नगरी बजेट फिर्ता गरिएको र भ्रष्टाचारका कारण विकास कार्य ठप्प परेको आरोप पनि लगाइएको छ। पूर्व गाउँपालिका अध्यक्ष रामबल्लभ साहका अनुसार, माग पूरा नभएसम्म आन्दोलन जारी रहने छ ।
वडा नम्बर ६ का अध्यक्ष ब्रम्हदेव यादवले पनि गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले पारदर्शिता र विकासप्रति बेवास्ता गर्दै एकदलीय ढंगले गाउँपालिकालाई भ्रष्टाचारको अखाडा बनाएको आरोप लगाए ।
तर, गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले भने नेपाली कांग्रेस र एमालेबीच केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन रहेकाले सहकार्यको आधारमा अघि बढ्नुपर्ने बताउँदै धर्नालाई ‘अनावश्यक झमेला’को संज्ञा दिए । उनले राखिएका मागहरुमाथि छलफल गर्न आफू तयार रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरे ।
भिडियाे सामाग्री