महोत्तरी | महोत्तरीको गौरीडाँडास्थित बी.पी. राजमार्गमा प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा बर्दीबासस्थित लागुऔषध नियन्त्रण ब्युरो प्रमुख सरोज अधिकारी र इलाका प्रहरी कार्यालय बर्दिवास प्रमुख विश्वबाबु बुढाथोकीको संयुक्त कमाण्डमा खटिएको सुरक्षा गस्तीले आइतबार बिहान सिरहाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबहाक ह्यास गाडी (प्रदेश ०१–००६ ख ७३०३) जाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो ।
इलाका प्रहरी बर्दीबासका डिएसपी विकास बमका अनुसार, ह्यासको अन्तिम सिटमा सवार सिरहा नगरपालिका–७ का ३७ वर्षीय बालकृष्णकुमार मुखियालाई शङ्का लागि चेकजाँच गर्दा कालो झोलाभित्र राखिएको खैरो हिरोइन जस्तो देखिने अर्धठोस पदार्थ फेला परेको छ ।
बरामद पदार्थको शुद्ध तौल ४६ ग्राम ६१० मिलिग्राम रहेको छ। डिएसपी बमका अनुसार, बजार मूल्य करिब चार लाख रुपैयाँ बराबर छ। मुखियालाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी थप अनुसन्धान सुरु गरिएको छ ।
यसैबीच, लागुऔषध नियन्त्रण ब्युरो बर्दीबासले ५४९.८५ ग्राम खैरो हिरोइनसहित दुई थान आकस्मिक सेवाका एम्बुलेन्स, चार थान मोटरसाइकल, र ओसार–पसारमा संलग्न ३९ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये दुई जना महिला र दुई जना विदेशी रहेका ब्यूरो प्रमुख सरोज अधिकारीले जनाएका छन् ।
भिडियाे सामाग्री