जनकपुरधाम | मिथिलाको प्रमुख लोकपर्व चौरचन (चौठचाँद) नजिकिँदै गर्दा जनकपुरधाममा बाँस र माटाका सामग्रीको व्यापार चहलपहलपूर्ण बनेको छ ।
जनकपुरधामस्थित पेठिया बजारमा बाँसबाट बनेका रंगीबिरंगी सूपा, डलिया, टोकरी तथा माटोका दियो, मट्का (दही जमाउने भाँडो), बाटोका ढकनीजस्ता सामग्रीको बिक्री बढेको व्यापारीहरूले बताएका छन् ।
व्यापारी निलम कुमारीका अनुसार चौरचनमा चन्द्रलाई अर्घ दिने परम्परागत चलनकै कारण यसबेला बाँस र माटोका सामग्रीको माग धेरै हुन्छ । उनले भनिन्, “सामान्य समयमा एक दिनमा २–४ वटा मात्र बिक्री हुन्छ, अहिले भने ४०–५० वटासम्म जान्छ ।”
त्यस्तै, कुम्हाल समुदायकी सुखनी देवी पण्डितले वर्षभरि माटोका भाँडा बनाए पनि चौरचनमा सबैभन्दा बढी आम्दानी हुने बताइन् । उनका अनुसार, “चौरचनमा दही जमाउने माटोका भाँडाको माग बढी हुन्छ। बजारमा राख्नेबित्तिकै बिक्री भइसकेको हुन्छ ।”
पेठिया बजारमै किनमेल गरिरहेकी उपभोक्ता रुवि कुमारीले चौरचनमा परम्परागत भाँडो प्रयोग गर्ने चलनले संस्कृति मात्र नभई प्रकृतिको संरक्षणमा पनि सहयोग पुग्ने बताइन् ।
मिथिलामा प्रचलित चौरचन पर्वमा परिवारका सदस्यहरूले चन्द्रमालाई अर्घ दिने परम्परा छ । यसका लागि बाँस र माटोका सामग्री अपरिहार्य हुने भएकाले किसान, कारीगर र व्यापारी सबैका लागि यो पर्व रोजगारी र आम्दानीको अवसर बनेको छ ।
भिडियाे सामाग्री