रौतहट | कुशे औंसीको अवसरमा सडक आश्रित ‘बा’हरूको हितका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा आश्रम शनिबार सञ्चालनमा ल्याइएको छ । आश्रमको उद्घाटन सांसद देवप्रसाद तिमल्सिना र प्रमुख जिल्ला अधिकारी विनोद खड्का लगायतले गरेका थिए ।
उद्घाटन अवसरमा सांसद तिमल्सिनाले आगामी दिनमा आश्रमलाई आवश्यक पर्ने वस्तु तथा सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खड्का, गढीमाई नगरपालिकाकी उपप्रमुख स्मिता यादव, गरुडा नगरपालिका प्रमुख कन्थमणिप्रसाद कलवार, जिल्ला समन्वय समिति प्रमुख रामअयोध्या यादव, पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्की, चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदयनारायण सापकोटा, निजानन्द धामका सन्त गुरु सुरेन्द्र दाहाल, नेकपा (एमाले) नगर कमिटी अध्यक्ष शिव आचार्य लगायतले मानवसेवा आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अस्रमका मधेस प्रदेश संयोजक विवेक महतोका अनुसार, यस आश्रम सञ्चालनका लागि हालसम्म रु तीन लाख ३८ हजार १२५ बराबर नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ । गरुडा नगरपालिकाबाट रु दुई लाख ५१ हजार र पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्ण यादवले रु ५१ हजार बराबर खाद्यान्न सामग्री सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
त्यस्तै, कृष्ण प्रणामी युवा परिषद्ले रु ६० हजार बराबर खाद्यान्न र लत्ताकपडा, जनज्योति बहुमुखी क्यामपस चन्द्रनिगाहपुरका स्ववियु सचिव साहिल पुरी रु २० हजार, पशु चिकित्सक दुर्गाप्रसाद चिमोरिया रु ११ हजार, प्रजापति पैडेल रु ११ हजार १३०, विनोददास कथबनिया रु १० हजार ५५५, अर्पणा देवकोटा रु १० हजार सहयोग गर्नुभएको छ ।
हाल आश्रममा रौतहटका ६ र अन्य जिल्लाका १४ गरी जम्मा २० जना सडक आश्रित रहेका छन् । आश्रमले उनीहरूलाई बास र खानासँगै सीप, दक्षता र क्षमता विकासका कार्यक्रममार्फत समाजमा पुनःस्थापना गर्ने लक्ष्य लिएको छ ।
भदौ ५ गतेबाट सुरु गरिएको उद्धार अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट चन्द्रपुर नगरपालिका–१, बागमती मङ्गलपुरसम्मका ६ जना सडक आश्रितलाई उद्धार गरी आश्रममा स्थानान्तरण गरिएको छ। संयोजक महतोका अनुसार, सालभित्रै रौतहटलाई सडक मानवरहित बनाउने लक्ष्य राखिएको छ।
भिडियाे सामाग्री