बाराको कलैया उपमहानगरपालिका–२३ सिसहनिया चौक नजिक आइतबार राति भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारकै क्रममा मृत्यु भएको छ ।
वीरगञ्जबाट कलैया तर्फ आउँदै गरेको ना १ ज १९४१ नम्बरको टाटा सुमोले कलैया बाट वीरगञ्जतर्फ जाँदै गरेको बा ५९ प ४०५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२३ बैराटपुर निवासी ३४ वर्षीय उपेन्द्र राउत कुर्मी रहेका छन् । दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई तत्कालै परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारका लागि लगिएको थियो। तर, टाउको, हात र खुट्टामा गम्भीर चोट लागेका कारण उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि टाटा सुमो चालक फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। यता दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको शव हाल सोही अस्पतालमै राखिएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयवासीले बैराठपुर चौकमा टायर बाल्दै प्रदर्शनसमेत गरेका छन् ।