वीरगन्जमा करिब १० वर्षपछि हैजाको संक्रमण तीव्र गतिमा फैलिएको छ । आइतबार साँझसम्ममा डेढ सयभन्दा बढी शंकास्पद बिरामी विभिन्न अस्पतालमा उपचाररत छन् । हालसम्म ३ जनाको झाडापखालाकै कारण मृत्यु भएको छ भने ९ जनाको आईसीयूमा र ७० जनाको एचडीयूमा उपचार भइरहेको छ ।
वीरगन्जका अस्पतालहरू शंकास्पद बिरामीले भरिएका छन् । जिल्ला संकट व्यवस्थापन समितिले डेडिकेटेड शय्या छुट्याएर जनशक्ति व्यवस्थापन गरेको छ । शनिबार बसेको जिल्ला समन्वय समितिको बैठकले संक्रमण नियन्त्रणका लागि सचेतना अभियान चलाउने, स्वास्थ्यकर्मी परिचालन गर्ने लगायतका निर्णय गरेको हो ।
संघीय खानेपानी मन्त्री प्रमोद यादव स्वयं वीरगन्ज पुगेर अवस्थाको स्थलगत निरीक्षण गरेका छन् । विभागले पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको प्राविधिक टोली पठाएको छ । स्थानीय तहले पानी शुद्धीकरणका लागि पीयूष वितरण गर्न थालेका छन् ।
हैजा महामारीकै रूपमा फैलन सक्ने जोखिम देखिएपछि स्थानीय तहले विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेका छन् । साथै, पानीपुरी, चाट, चटपटे लगायत खुला रूपमा बिक्री गरिने खाद्यपदार्थमा रोक लगाइएको छ ।
वीरगन्ज महानगरपालिकाले अस्पतालसँगको बैठकपछि १ देखि १६ वडालाई जोखिम वडा घोषणा गरेको छ । विशेष गरी ११, १२, १३ र १६ वडामा प्रकोप फैलिएको भन्दै जनशक्ति, औषधि, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । महानगरले हब–स्याटेलाइट सञ्जाल सक्रिय गर्दै २४ घण्टा हेल्प डेस्क सञ्चालन गर्ने र स्वास्थ्यकर्मीका २५ वटा टोली परिचालन गर्ने निर्णय गरेको छ ।
विश्व स्वास्थ्य संगठन (WHO) र अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) का अनुसार खानेपानी दूषित हुनु र सरसफाइको अभावकै कारण हैजा वा झाडापखाला तीव्र गतिमा फैलिन्छ । साबुनपानीले हात धोने बानी बसाल्दा रोगको दर आधा घटाउन सकिने विज्ञहरूले सुझाव दिएका छन् ।
चिकित्सकहरूका अनुसार हैजा ‘भिब्रियो कोलेरी’ नामक ब्याक्टेरियाले आन्द्रामा संक्रमण गर्दा हुने गम्भीर रोग हो । दूषित पानी वा आहारबाट शरीरमा प्रवेश गर्ने यी जीवाणु आन्द्राबाट ठूलो मात्रामा पानी बाहिर निकाल्ने भएकाले चौलानीजस्तो दिसा हुने र शरीरमा तत्काल तरल पदार्थको कमी हुने बताइन्छ । गम्भीर अवस्थामा रोगीको रक्तचाप खस्कने, अचेत हुने र मृत्यु हुनेसम्मको अवस्था आउन सक्छ ।
तर करिब ८० प्रतिशत संक्रमितमा सामान्य झाडापखालामात्र देखिने र ओआरएस (जीवनजल), नुन, चिनी मिसाइएको पानीले उपचार गर्न सकिने चिकित्सकहरूले जनाएका छन् । गम्भीर अवस्थामा सलाइनपानी र एन्टिबायोटिक औषधि दिइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार उचित उपचार गरे हैजाबाट मृत्यु दर एक प्रतिशतभन्दा कम रहन्छ ।
हैजा नियन्त्रणका लागि रोगीको मलमूत्रलाई सुरक्षित रूपमा खाल्डोमा पुर्नुपर्ने, भाँडाकुँडा उमालेको पानीले सफा गर्नुपर्ने, लुगाफाटा उमालेर पखाल्नुपर्ने, झिंगाबाट खानेकुरा जोगाउनुपर्ने चिकित्सकहरूको सल्लाह छ । यस्तै, खाना घरमै राम्ररी पकाएर खाने, पानी कम्तीमा ५ मिनेट उमाल्ने वा क्लोरिन चक्की प्रयोग गरेर मात्र पिउन सिफारिस गरिएको छ ।