मधेश प्रदेशमा हत्या घटनाको दर निरन्तर बढ्दै गएको तथ्यांकले देखाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामात्रै ९ जनाको हत्या भएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा मात्र मधेश प्रदेशमा ९९ जनाको हत्या भएको प्रहरी तथ्यांकमा उल्लेख छ । तीमध्ये ५३ जना पुरुष, ३६ जना महिला, ५ जना बालक र ६ जना बालिका रहेका छन् ।
जिल्लागत विवरण हेर्दा सबैभन्दा बढी धनुषामा १७ जना, सर्लाहीमा १४ जना, महोत्तरीमा १३ जना, बारा र सप्तरीमा १२/१२ जना, रौतहटमा ११ जना र सिरहा तथा पर्सामा १०-१० जनाको हत्या भएको देखिन्छ ।
हत्या हुनेमध्ये १८ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू बढी छन् । यो उमेर समूहभित्रका मात्र ६३ जनाले ज्यान गुमाएका छन् ।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा मधेशमा १२७ जनाको र आ.व. २०७९/८० मा १०९ जनाको हत्या भएको तथ्यांक प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।