प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानहरूले भोगिरहेको समस्याप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारको कडा आलोचना गरेका छन् ।
उखुको बोटसहित किसानहरू सडकमा उत्रिनुलाई उनले ‘अत्यन्त दुःखद’ अवस्था भएको बताएका छन् । सामाजिक सञ्जाल ‘एक्स’ (पहिले ट्विटर) मार्फत उनले सरकारलाई किसानको माग तत्काल पूरा गर्न आग्रह गरेका छन् ।
डा. कोइरालाले लेखेका छन्, “उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति हो। उनीहरूको माग तुरुन्त पूरा गरौँ ।”
उनले कृषिलाई प्राथमिकता दिने सरकारको दाबी व्यवहारमा असफल रहेको आरोप पनि लगाए । खेतीको बेलामा मल नपाउने, मल किन्न किसानलाई लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, प्रमुख नगदे बाली उखुमा भुक्तानी समयमै नपाउने वा अनुदान कटौती हुनेजस्ता समस्या देखाउँदै उनले प्रश्न गरे, “यस्तो अवस्थामा हामी कसरी खाद्यान्नमा आत्मनिर्भर बन्न सक्छौँ ? कृषिलाई सरकारले किताबमा लेखेर र भाषणमा बोलेर मात्र प्राथमिकता दिएको हो र ?”
किसानको पीडा र समस्यालाई उनले सरकारको नीतिगत असफलताको प्रत्यक्ष उदाहरणका रूपमा व्याख्या गरे । कृषि क्षेत्रको वास्तविक अवस्था र सरकारी नीतिबीच ठूलो खाडल रहेको उल्लेख गर्दै उनले यसले किसानको जीवन कष्टकर बनाउनुका साथै देशको अर्थतन्त्रमै नकारात्मक असर पारेको बताए ।
Tags: