काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को ज्यादती र सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप लगाउँदै कबाड व्यवसायीले दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शनले काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गर्यो, जहाँ व्यवसायीहरूले बालेनविरुद्ध चर्को नाराबाजी गरे ।
कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले बालेनको कार्यशैलीप्रति कडा प्रश्न उठाउँदै भने, “के तिमी सर्वोच्च अदालतभन्दा माथि छौ ? के अदालतको आदेश पालना गर्नुपर्दैन ? कानुनी शासनको कुरा गर्नेले कानुन मान्नुपर्छ कि पर्दैन ?” उनले चेतावनी दिंदै भने, “बालेनलाई घुँडा नटेकाएसम्म आन्दोलन जारी रहनेछ ।”
आन्दोलनकारीहरूले ‘सर्वोच्च अदालतको आदेश पालना गर’, ‘कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर’, ‘बालेनको गुण्डागर्दी बन्द गर’ र ‘बालेन तेरो पाराले दुख पायो साराले’ जस्ता नारा लगाएका थिए ।
व्यवसायीहरूले पाँचबुँदे माग अघि सारेका छन् । तिनमा संविधानले दिएको पेसा व्यवसाय गर्ने हकको ग्यारेन्टी, महानगरबाट भइरहेको कुटपिट तथा संरचना भत्काउने कार्य तत्काल रोक्नुपर्ने, ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कारबाही गर्ने, कबाड व्यवसायीको सुरक्षा सुनिश्चित गर्न सरकारको हस्तक्षेप र विगत दुई वर्षमा महानगर प्रहरीले पुर्याएको क्षतिको क्षतिपूर्ति प्रमुख रहेका छन् ।
माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूको भनाइ छ ।