वैदेशिक रोजगारीका लागि क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वर बस्ने डडेल्धुरा, भागेश्वर गाउँपालिका – ५ का २४ वर्षीय सुरेश नाथ र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१३ बस्ने संखुवासभा, मकालु गाउँपालिका – ४ का ४३ वर्षीय धन बहादुर राई रहेका छन् ।
पीडितहरूको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । सुरेशले क्यानडा पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १७ लाख १ हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए भने धनबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट १३ लाख ५० हजार रुपैयाँ लिई फरार भएका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कबाट र धन बहादुरलाई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका – ८ बाट सोमबार पक्राउ गरेको हो ।