वीरगञ्जमा हैजाको आशंका बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १० बिरामीको नमूना परीक्षण गर्दा ८ जनामा हैजा पुष्टि भएको छ ।
प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टका अनुसार वीरगञ्जबाट हैजाका लक्षण देखिएका बिरामीको दिसा संकलन गरी परीक्षणका लागि पठाइएको थियो । “भाइटेक प्रविधिबाट गरिएको कल्चर परीक्षणमा १० नमूनामध्ये ८ मा हैजाको संक्रमण भेट्टिएको छ,” उनले जानकारी दिए ।
उनका अनुसार स्थानीय अस्पतालहरूले यसअघि नै ‘आरडिटी’ परीक्षणमार्फत हैजाको प्रारम्भिक पुष्टि गरेका थिए । तर थप सुनिश्चितताका लागि नमूनाहरू राष्ट्रिय प्रयोगशालामा पठाइएको हो । “आरडिटी परीक्षणमा कहिलेकाहीँ फरक नतिजा आउन सक्छ । त्यसैले थप प्रमाणित गर्न यहाँ कल्चर गरिएको हो,” डा. भट्टले बताए ।
वीरगञ्जमा पछिल्लो समय हैजासहित झाडापखालाका बिरामी तीव्रगतिमा बढ्दै गएपछि स्वास्थ्यकर्मीहरू सतर्क बनेका छन् ।