रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबी साहको हत्या गरेको अभियोगमा रहेका लक्ष्मण पासवानलाई प्रहरीले थप उपचारका लागि काठमाडौं पठाएको छ ।
गत शनिबार राति रुबी साहलाई हत्या गरी सुटकेसभित्र हालेर गौर–सिर्सिया खण्डको मुडबलवा गेट नजिक फ्यालेर भागेका पासवानलाई प्रहरीले बुधबार बिहान आफ्नै घर नजिक शरीरमा आगो लगाएको अवस्थामा फेला पारेको हो । उनको अनुहारसहित शरीरको ठूलो भाग जलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानअनुसार आत्महत्याको प्रयास गर्नु अघि पासवानले ९ मिनेट लामो भिडियो रेकर्ड गरेका थिए । उक्त भिडियोमा उनले रुबीको हत्या गरेको स्वीकार गर्दै आफैं पनि जीवित रहन नसक्ने बताएका छन् । हाल उक्त भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ ।
‘हत्याको कारणबारे हामी गहिरिएर अनुसन्धान गर्दैछौं,’ डीएसपी कार्कीले भने, ‘प्रेम प्रकरणसँग पनि जोडिएको हुन सक्ने प्रारम्भिक अनुमान छ । तर अहिले नै निश्चित भन्न सकिँदैन ।’
पासवानलाई सुरुमा रौतहटको गरुडास्थित बेटर अस्पतालमा उपचार गरिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
भिडियोमा पासवानले रुबीलाई हत्या गरेपछि आफ्नो हात काँपिरहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, “रुबी मरिसकेपछि आफू बाचेर के गर्नु भन्ने लागेको छ । नेपाल प्रहरीलाई मेरो सलाम छ । तपाईंहरूले राम्रो काम गरिरहनु भएको छ । पक्राउ परे १०/१५ वर्ष जेल सजाय भोग्नुपर्छ भन्ने लागेको छ, तर अब बाँचेर के गर्नु ?”
पासवानको दाहिने हातमा ‘माई हार्ट रुबी कुमारी’ लेखिएको ट्याटु खोपिएको छ भने छातीमा समेत उनले रुबीको तस्वीर कोरिएका छन् ।
माधोपुर माइत भएकी रुबी साहको स्थायी घर भारतको मुजफ्फरपुर हो । उनी गौरमा डेरा लिएर बस्दै आएकी थिइन् । चार वर्षको छोरा समेत गौरमै पढ्दै आएको प्रहरीले जनाएको छ । लक्ष्मण पासवानको घर र रुबी साहको माइती एउटै टोलमा रहेको पाइएको छ ।