यस वर्ष मुलुकभर ९४.९ प्रतिशत मात्र धान रोपाइँ भएको छ । भदौ ८ सम्म देशभर १३ लाख ६ हजार २९३ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । नेपालमा कुल १३ लाख ७६ हजार ४६६ हेक्टर जमिनमा बर्खे धान रोपाइँ हुने गर्दछ । गत वर्ष सोही मितिसम्म ९८.५४ प्रतिशत रोपाइँ भएको थियो ।
यस वर्ष मनसुन ढिला र असमान रूपमा सक्रिय हुँदा ७० हजार १७३ हेक्टर जमिन खेतीयोग्य रहे पनि रोपाइँ हुन सकेको छैन । केन्द्र प्रमुख केशव देवकोटाका अनुसार सिँचाइ र पानीको अभाव मुख्य कारण बनेको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का धान वैज्ञानिक सुशील सुवेदीले यसपालि धान उत्पादनमा ठूलो गिरावट आउने दाबी गरेका छन् । उनका अनुसार प्रतिहेक्टर ३.७९ टन उत्पादकत्वका हिसाबले ७० हजार हेक्टरमा रोपाइँ नहुँदा मात्रै करिब २ लाख ६५ हजार टन उत्पादन घट्छ । खडेरीका कारण धेरै ठाउँमा ढिलो गरी छिप्पिएको बीउ रोपिएको, मल अभाव र पानीको समस्या भएको, साथै भविष्यमा बाढी आएमा थप क्षति हुने भएकाले कुल उत्पादन करिब ८ लाख टनले घट्ने उनले बताए ।
कृषि मन्त्रालयका अधिकारीहरूले पनि उत्पादन घट्ने निश्चित भए पनि अहिले नै ठ्याक्कै कति घट्छ भन्ने अनुमान लगाउन गाह्रो रहेको बताएका छन् ।
प्रदेशगत स्थिति
-
मधेश प्रदेश : कुल ३ लाख ७० हजार १४५ हेक्टरमा धान रोपाइँ हुने भए पनि ८६.३५% मात्र रोपाइँ । गत वर्ष ९७% ।
-
कोशी प्रदेश : २ लाख ७६ हजार ३८६ हेक्टरमा ९७.२४% रोपाइँ । गत वर्ष १००% ।
-
बागमती प्रदेश : १ लाख १५ हजार ६२१ हेक्टरमध्ये ९७.२७% रोपाइँ । गत वर्ष ९९% ।
-
गण्डकी प्रदेश : ९४ हजार १८२ हेक्टरमध्ये ९६.६३% रोपाइँ । गत वर्ष ९८% ।
-
लुम्बिनी प्रदेश : २ लाख ९८ हजार ११ हेक्टरमा ९८.३७% रोपाइँ । गत वर्ष ९८% ।
-
कर्णाली प्रदेश : ४१ हजार ४२ हेक्टरमा ९९.३४% रोपाइँ । गत वर्ष ९९% ।
-
सुदूरपश्चिम प्रदेश : १ लाख ७५ हजार ६५२ हेक्टरमा ९९.७२% रोपाइँ । गत वर्ष १००% ।
धान उत्पादनमा गिरावट आउनु चामल आयातमा वृद्धि हुने संकेत हो । गत आर्थिक वर्ष २०८१/८२ मा ५९ लाख ५५ हजार ४७६ टन धान उत्पादन भए पनि त्यही वर्ष २० अर्ब ३५ करोड बराबरको ५ लाख टन धान र १८ अर्ब ६६ करोड बराबरको २ लाख ४१ हजार टन चामल आयात भएको थियो ।