वीरगन्ज महानगरपालिकामा फैलिएको हैजाको संक्रमणले अब बाराको कलैयामा पनि त्रास बढाएको छ । हालै कलैया अस्पतालमा एक व्यक्तिमा हैजा पुष्टि भएपछि जिल्ला स्वास्थ्य कार्यालयले संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाराका प्रमुख रामनरेश यादवका अनुसार संक्रमित व्यक्ति कलैयाको भए पनि उनी वीरगन्जमा काम गर्ने गरेका थिए र त्यहीँबाट संक्रमण लिएर आएको देखिएको छ । अस्पतालमा हैजा पुष्टि भएपछि स्वास्थ्यकर्मीको टोलीलाई संक्रमितको घर र गाउँमा खटाइएको र अन्य मानिसमा लक्षण देखिएको छ कि छैन भनेर जाँच गरिएको यादवले जानकारी दिए । हालसम्म अन्य व्यक्तिमा संक्रमण नदेखिएको समेत उनले स्पष्ट पारे ।
पछिल्लो समय कलैयामा हैजाबारे हल्ला फैलिएको भए पनि जिल्ला स्वास्थ्य कार्यालयले अनावश्यक त्रास नलिन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रमुख यादवले भने, “विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका खबरले कोही पनि डराउनुपर्ने अवस्था छैन । सरसफाइमा ध्यान दिनुहोस् र दैनिक क्रियाकलापमा सावधानी अपनाउनुहोस् ।”
स्वास्थ्य कार्यालयका अनुसार हैजा रोकथामको सबैभन्दा प्रभावकारी उपाय सुरक्षित पानी र सरसफाइ नै हो । त्यसका लागि खानेपानी उमालेर वा पियुष हालेर मात्र पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन र वरपरको वातावरण सफा राख्न आग्रह गरिएको छ । स्वास्थ्यकर्मीहरूले घर–घरमा गएर सचेतना कार्यक्रम चलाइरहेका छन् ।
यस्तै, स्वास्थ्य कार्यालयले बिरामीको उपचारका लागि आवश्यक औषधि र किटहरू पर्याप्त मात्रामा उपलब्ध गराइएको र निःशुल्क जाँचको व्यवस्था गरिएको जनाएको छ । अस्पतालमा बिरामीको संख्या बढेमा व्यवस्थापनका लागि वीरगन्जसँग जोडिएका विश्रामपुर, पर्सौनी, फेटा र परवानीपुर पालिकाहरूलाई पनि तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।