भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व आज (बिहीबार) नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै छन् ।
महिलाले बिहानै उठेर स्नान गरी सोमबार सम्पन्न हरितालिकाको व्रत समापनका क्रममा गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरेपछि नजिकैको नदी, खोला, ताल, तलैया वा पोखरीमा गई दत्तिवनको दाँतुनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने परम्परा छ ।
हरितालिका (तीज) को व्रत महिला र पुरुष दुवैले गर्नुपर्ने शास्त्रीय वचन भए पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने धार्मिक मान्यता छ । रजस्वला अवधिमा अनजानेमा हुने छुईछाईका त्रुटिबाट मुक्त हुन अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्नुपर्ने विश्वास रहेको छ ।
धार्मिक मान्यताअनुसार महिलाले रजस्वलाको पहिलो दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने भनिएको छ । यसकारण आजको दिन गाईको गोबर, माटो, खरानी प्रयोग गरी स्नान र पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने विश्वास रहँदै आएको छ ।
स्नानपछि महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने परम्परा छ । यही कारण भाद्र शुक्ल पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो ।
रजस्वलाका समयमा हुने शारीरिक परिवर्तनलाई धार्मिक दृष्टिले पनि व्याख्या गरिएको छ । विकृत रजका कारण रोग फैलन सक्ने भएकाले छुईछाई नगर्नुपर्ने मान्यता छ । अनजानेमा त्रुटि भएमा आजको पूजाद्वारा त्यसबाट मुक्ति पाइने विश्वास गरिएको छ ।
धार्मिक अनुष्ठानसँगै ऋषि पञ्चमीका दिन महिलाले नरोपी अन्न, सामा, कागुनो, कन्दमूल, कर्कला आदिको सेवन गरी एक छाक हविष्य बस्ने विधि पालन गर्ने प्रचलन छ ।