महोत्तरी । सीमावर्ती भारतसँग जोडिएको महोत्तरी पछिल्लो वर्षहरूमा लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । भारतीय सीमाक्षेत्रबाट महोत्तरीमा लागुऔषध भित्रिने क्रम बढ्दा स्थानीय प्रशासन, प्रहरी र समाजमा चिन्ता र चासो बढेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला भित्र विभिन्न स्थानबाट बरामद हुने परम्परागत र आधुनिक लागुऔषधजन्य वस्तुहरूको अध्ययन गर्दा लागुऔषध सेवनकर्ता र कारोबारीको अवस्था भयावह देखिएको छ । हालसम्म चरेस, गाजा, खैरो हिरोइन, अफिम, फेनागन, नाइट्रोभेट, रैक्सोजैससहित सयौँ व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।
प्रवक्ता शैलेन्द्रकुमार भट्टका अनुसार पछिल्लो तीन वर्षमा १८६ विभिन्न प्रकृतिका लागुऔषधसम्बन्धी मुद्दामा चार भारतीय नागरिकसहित २५२ जनालाई पक्राउ गरिएको छ । आर्थिक वर्ष ०७९/०८० मा १०४, ०८०/०८१ मा ७१, र ०८१/०८२ मा ७७ जना पक्राउ परेका थिए भने चालु आर्थिक वर्ष ०८२/०८३ को साउन महिनासम्ममा एक महिला र पाँच पुरुष पक्राउ परेका छन् ।
महोत्तरी प्रहरीले यस अवधिमा गाजा ३० क्विन्टल ६७८ किलो १६४ ग्राम, खैरो हिरोइन ३०७ ग्राम, कोकिन चार ग्राम, नाइट्रोभेट ट्याबलेट २०,४३३ थान, विभिन्न किसिमको झोल भएको २,५१७ एम्पुलसहित अन्य विभिन्न लागुऔषध बरामद गरेको जनाएको छ । साथै, लागुऔषधमा प्रयोग हुने ५३ मोटरसाइकल, ८ ट्रक, २ पिकअप भ्यान, १ स्कुटी, २ एम्बुलेन्स, २ स्कार्पियो, ४ कार, २ अटोरिक्सा पनि बरामद गरिएको छ।
बर्दीबासस्थित लागुऔषध नियन्त्रण ब्युरो प्रमुख सरोज अधिकारीले भने, “हाम्रा अभियानहरू तीव्र पार्दा हालसम्म ५४९.८५ ग्राम खैरो हिरोइनसहित दुई एम्बुलेन्स, चार मोटरसाइकल र ओसारपसारमा संलग्न ३९ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकामध्ये दुई महिला र दुई विदेशी नागरिक पनि छन् ।”
जिल्ला प्रहरी प्रमुख एसपी हेरम्ब शर्माले एकातिर मुद्दा दर्ता र अर्कातिर सचेतना कार्यक्रम सञ्चालन गरिएको बताउँदै, “विद्यार्थीदेखि समुदायसम्म सबैलाई जागरुक बनाएर मात्र लागुऔषध निर्मूल गर्न सकिन्छ । प्रहरीको एकल प्रयासले पूर्ण नियन्त्रण सम्भव छैन,” भनि सचेत गराए ।
बर्दिवास–३ स्थित जाँडरक्सी, लागुऔषध, मादक पदार्थ, मानसिक रोग उपचार तथा पुनःस्थापना केन्द्रका सञ्चालक रुद्र मग्रातीले भने, “लागुऔषध मुक्त समाज निर्माणका लागि अभिभावकदेखि सरकारी सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुपर्छ । बालबालिकालाई सानै उमेरदेखि सचेत बनाउँदै पाठ्यक्रममा समावेश गर्न आवश्यक छ ।”
उक्त केन्द्रमा हाल ३८ जना दुर्व्यवसनीहरूको उपचार भइरहेको छ । मग्रातीले लागुऔषध प्रयोगकर्ता मात्र नभई तस्कर र व्यवसायीको सञ्जाल भत्काएर कानुनी कारबाही गरेमा मात्रै न्यूनीकरण सम्भव हुने बताए ।
भिडियाे सामाग्री