काठमाडौँ । डा.गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धिलगायत निर्णयको विरोध गर्दै धनगढी पुगेर सत्याग्रह शुरू गरेका छन् ।
धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा आइतबारबाट तीन दिने सत्याग्रह शुरू गरेका हुन् । उनले केही समययताका आयोग, सरकार र अदालतका गलत निर्णय तथा फैसलाले चिकित्सा शिक्षा ऐनको अस्तित्व नै धरापमा परेको भन्दै निजी कलेजलाई पोस्ने नीतिका विरुद्ध आफ्नो सत्याग्र रहेको बताए । उनले भने “चिकित्सा शिक्षा ऐनको मर्मविपरित प्रधानमन्त्री केपी ओलीको नाजायज र प्रत्यक्ष हस्तक्षेपका कारण हालै चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट बढाउने गैरजिम्मेवार निर्णय गरेको छ । त्यसलगायत विद्यार्थी भर्ना सिट संख्या वृद्धि गर्दा नेता र माफियाको झोला त भरिन्छ तर शिक्षाको गुणस्तरमा ह्रास आउँछ,” उनले विज्ञप्तिमा भनेका छन् ।
उनले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।
साथै डा केसीले यसअघिको सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि माग गरेका छन् ।
भिडियाे सामाग्री