जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पार्टीको निर्देशनअनुसार राजीनामा नदिएपछि जनमत पार्टीले उनलाई अनुशासनात्मक कारबाही सिफारिस गर्ने निर्णय गरेको छ ।
संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार सिंहलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाइएको थियो। तर तोकिएको समयमै जवाफ नआएपछि पार्टीले कारबाहीको बाटो लिएको हो ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। तर उनले औपचारिक राजीनामा पत्र भने प्रदेश प्रमुखसमक्ष बुझाउन अस्वीकार गरेका थिए ।
यसैबीच, जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। साथै, सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको जानकारी प्रदेश प्रमुख कार्यालय र प्रदेशसभा सचिवालयलाई दिइएको पार्टीले जनाएको छ ।