महोत्तरी । चुरे क्षेत्रमा परेको भीषण वर्षाले महोत्तरीको बर्दीबास–३ स्थित पाटु गाउँमा खानेपानी आपूर्ति ठप्प भएको छ । शुक्रबार अपराह्न परेको भारी वर्षापछि भोगटे खोलामा आएको बाढीले पवनेश्वर खानेपानी उपभोक्ता समितिको मुहान र पाइपलाइनमा गम्भीर क्षति पुर्याएपछि तीन दिनदेखि करिब ४ सय परिवार चरम पानी संकटमा परेका हुन् ।
आपूर्ति अवरुद्ध भएपछि गाउँले खोलाको बालुवा खोस्रेर पानी पिउन बाध्य भएका छन् । ‘बाढी पसेदेखि घरका धारा सुकेका छन्,’ गाउँका रमेश क्षेत्रीले दुःख पोख्दै भन्नुभयो, ‘हामी रातु खोलाको जरुवा पानी पिउन बाध्य छौं ।’
बाढीले भोगटे खोलाको शीरमा रहेको पानीको मुहान पुरीदिएको र पाइपलाइनका विभिन्न खण्ड बगाएको समितिले जनाएको छ । समितिका अनुसार यो मनसुनको अहिलेसम्मकै ठूलो बाढी हो । साथै, पानी रिचार्जका लागि बनाइएको २ मिटर अग्लो र १० मिटर लामो बाँधमा पनि ठुलो क्षति पुगेको छ ।
सचिव कृष्ण भण्डारीका अनुसार गाँउदेखि ७–८ किलोमिटर टाढा पर्ने मुहानसम्मको पैदल यात्रा जोखिमपूर्ण बनेको छ । बाढीले बाटो भत्काएकाले मर्मत कार्य थप कठिन भएको र बाह्य सहयोग बिना समितिको क्षमताले मर्मत सम्भव नभएको उहाँले बताउनुभयो ।
यता, बर्दीबास नगर प्रमुख प्रह्लाद क्षेत्रीले राहतस्वरूप एक थान मोटर र केही मिटर पाइप उपलब्ध गराएका छन् । समितिले सो सहयोगमा २०५२ सालदेखि प्रयोगविहीन रहेको पुरानो इनार सफा गरी शनिबारदेखि अस्थायी समाधानको प्रयास थालेको छ । इनारबाट मोटरमार्फत पानी तानेर ट्याङ्कीमा भण्डारण गरी वितरण गर्ने तयारी भएको छ । तर, सचिव भण्डारीका अनुसार गाउँमा दैनिक करिब १ लाख लिटर पानी आवश्यक पर्छ, जसलाई इनार र मोटरको क्षमताले दीर्घकालीन रूपमा पूरा गर्न सक्दैन ।
गाउँलेले सङ्घीय तथा प्रदेश सरकार, गैरसरकारी संस्था र स्थानीयको सहकार्यबिना दीर्घकालीन समाधान सम्भव नभएको बताएका छन् । युनिसेफको सहयोगमा २०५२ सालमा निर्माण गरिएको पवनेश्वर खानेपानी आयोजना पाटु गाउँका ४ सय परिवारलाई लाभान्वित गर्दै आएको थियो ।