हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि विधिपूर्वक सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्वको पहिलो दिन घरघरमा घटस्थापना गरिन्छ ।
आज (सोमबार) बिहानै नित्यकर्म सम्पन्न गरी पूजा कोठा वा दसैँ घरमा दियो, कलश र गणेश स्थापनासहित वैदिक विधिअनुसार शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिएको छ ।
नजिकैको नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक राखेर त्यस माथि यव ( जौ ) रोप्ने चलन छ। यस कार्यलाई जमरा राख्ने भनिन्छ ।
घडा स्थापना गरी शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ९ः१३ बजे रहेको छ ।