आश्विन शुक्ल द्वितीया तिथि अर्थात् नवरात्रको दोस्रो दिन आज घरघरका दसैँ घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विशेष पूजा – आराधना भइरहेको छ ।
नवरात्रको पहिलो दिन सोमबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी पूजा – आराधना भइरहेको हो ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका स्तोत्रहरूको पाठ गर्ने परम्परा छ । धार्मिक विश्वासअनुसार देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। यही आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्छन् ।
ब्रह्मचारिणी देवीलाई संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द स्वरुप ब्रह्मको बोध गराउने देवी मानिन्छ । देवीको हातमा कमल, अक्षमाला र कमण्डलु रहनुपर्ने विधान शास्त्रमा उल्लेख छ ।
नवरात्रको अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने परम्परा छ । सोमबार घटस्थापनादेखि नै मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढेको छ ।